धनौजी गाउँपालिकाको एक वडा कार्यालयमा ४ महिनादेखि तालाबन्दी

जनकपुरधाम, ९ मंसिर । धनुषाको धनौजी गाउँपालिकास्थित वडा नम्बर–४ को कार्यालयमा स्थानीयवासीले विगत ४ महिनादेखि ताला लगाएका छन् । वडामा कामै नभएको योजनाको समेत भुक्तानी भएको देखेपछि स्थानीयले हरहिसाबको माग गर्दै वडा कार्यालयमा ताला लगाएका हुन् ।
धनौजीमा स्थानीय सरकार गठन भएदेखि पहिलो वर्षमा ५० लाख, दोस्रो वर्षमा १ करोड र तेस्रो वर्षमा ९५ लाख तथा चालु आर्थिक वर्षमा २ करोड रुपैयाँको बजेट सिलिङ्ग गरिएको स्थानीय जितेन्द्रकुमार मण्डलले बताए । तालाबन्दी गरिएको महिनौँ बितिसक्दासमेत आफूहरुको माग सम्बोधन नभएको र ताला खोलाउन पनि कुनै पहल नगरिएको मण्डलले जानकारी दिए ।
छुट्याइएको बजेट अनुसार काम नभएको अर्का स्थानीय संतोषकुमार मण्डलको आरोप छ । उनले आधा काम सम्पन्न गरेर पूरै भुक्तानी भईसकेको योजनामा समेत फेरी बजेट छुट्याइएको आरोप लगाए । वडामा अनियमितता बढ्दै गएपछि धनौजी गाउँपालिकाका साथै वडाहरुको कामको हरहिसाब सार्वजनिक गर्न गाउँपालिका अध्यक्ष बद्री सिंहलाई ज्ञापन पत्र बुझाएपनि कुनै सुनुवाई नभएको स्थानीय अशोक मण्डलले बताए । गाउँपालिका अध्यक्षका साथै प्रमुख जिल्ला अधिकारी समेतले चासो नलिएपछि आफूहरुले वडामा ताला लगाएको उनले बताए ।
आफूहरुको माग अबिलम्ब पूरा गरेर ताला खोल्ने वातावरणको निर्माण नगरिए जनप्रतिनिधिहरुलाई जनकारवाही समेत गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
यता वडाध्यक्ष कलिम साफीले उनीहरुको आरोप निराधार रहेको दावी गरेका छन् । उनले ताला लगाउनेहरु समेत उपभोक्ता समिति बनाएर काम गरेको दावी गर्दै काम गरेर पनि भुक्तानी नपाएकाहरुलाई भुक्तानी पाउने वातावरण आफूले बनाएकै कारण आवेगमा आएर तालाबन्दी गरेको प्रतिक्रिया दिए ।
वडाध्यक्ष साफीले तालाबन्दी गत १ महिनादेखि मात्रै रहेको दावी गर्दै चाँडै ताला खोलाउने वातावरणको निर्माण गरिने जानकारी दिए । महिनौंदेखि गरिएको तालाबन्दीका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।