काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ ।

काठमाडौंमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई कारबाहीस्वरुप केन्द्रीय सदस्यबाट निस्कासन गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको थियो । उनको पुत्ला सांसद यादवको निर्देशनमा जलाइएको भन्दै उनलाई कारबाही गरिएको हो ।

‘प्रदीपजीलाई कारबाही गर्नुहुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासन गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ,’ एक कार्यकारिणी सदस्यले भने । उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारबाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाही निर्णय लिइएको हो ।

कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन् । यादवले दिएको प्रस्टिकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् । सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको विरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।

त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि उनलाई ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

यसैगरी, बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।