कानून व्यवसायीद्वारा उच्च अदालत अगाडी धर्नासहित विरोधसभा

जनकपुरधाम, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको मुलद्वार अवरुद्ध गर्दै धर्नासहित विरोधसभा गरेका छन् ।
नेपाल बार एसोसिएसन जनकपुरले विगत ३ दिनदेखि उच्च अदालतको मुलढोका अवरुद्ध गर्दै धर्नामा बसेका हुन् ।
नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा धर्ना सहित विरोधसभा गरिएको छ ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिकाप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कारणले धुमलिएको र न्यायालयले विश्वास गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्ने बताए ।
न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने र आफूहरुको एक सुत्रीय माग पूरा नभएसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बसेको जानकारी दिए ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायाधीशले आफ्नो स्वार्थपूर्तीका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासँग सम्झौता गरेको आरोप लगाए ।