जनकपुरधाम, ८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति आलोचना गरिएको छ ।

बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टी भित्र एक पक्षिय रुपमा अगाडी बढ्दै गईरहेको भन्दै आलोचना गरिएको छ । पार्टी भित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरुको आरोप छ ।

बैठकमा हिसिला यमि, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा विना संस्थागत निर्णय गरेर जसरी अगाडि बढ्ने परिपाटीको विकास भईरहेको छ यो पार्टीका लागि घातक हुने बताए । नेताहरुले पार्टी एकिकरणको समयमा दुई जना अध्यक्षको परिकल्पना गरिएको र त्यसले शक्ति संतुलन गर्ने भएकोले पार्टीमा दुई अध्यक्षको माग समेत उठेको बताइएको छ ।

जसपा नेतृ हिसिला यमिले बैठकमा भनिन् ‘पार्टीमा विधिको आभाव देखिएको छ, प्रदेश २मा जसरी मन्त्री बनाउने र मन्त्री हटाउने कार्य भयो त्यो नितान्त अध्यक्षको मनपरि हिसाबले भएको हो, यसमा पार्टी भित्र छलफल गर्नु पर्छ वा पर्दैन ?’

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । यता सामाजिक विकास मन्त्री नवल साहले २ अध्यक्षीय प्रणालीको विषयमा विधानमा रहेको व्यवस्थालाई हटाउन विधान संशोधन प्रकृया चाँडै नै अगाडी बढाइने जानकारी दिए । उनले दुई अध्यक्षीय प्रणाली विफल साबित भईसकेकोले २ अध्यक्षीय प्रणालीको व्यवस्था विधानबाट हटाउनका लागि विधान संशोधन गर्ने प्रकृया चाँडै नै अगाडी बढाइने बताए ।

बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु¥याउन संख्या थप गर्न लागिएको हो । १६ जना कार्यकारिणी समिति थप गर्नुपने रहेपनि हाललाई ४ जनाको स्थान रिक्त राख्ने सहमति भएको एक नेताले बताए । बैठकमा पूर्वमन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज सुवेदी, गंगा श्रेष्ठ, अमृता अग्रहरी, गजाधर यादव लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । जसपाको कार्यकारिणी समितिको बैठक बुधवार समेत जारी रह्ने छ ।