जसपाको कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम, ८ मंसिर । काठमाडौंमा जारी जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समिति बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ ।
मुख्यमन्त्री राउतले पार्टीमा छलफल नै नगरी मन्त्रीलाई हटाउने तथा नियुक्त गर्ने खेल गरिरहेको आरोप लगाउँदै उनको राजीनामाको माग उठेको हो ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति समेत प्रश्नचिन्ह उठेको बताइएको छ । उद्योग, पर्यटन तथा वनमन्त्रीबाट पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नै नगरी मुख्यमन्त्री राउतले बिना कारण पदबाट हटाउनु आफ्नो अपमान रहेको भन्दे आक्रोश व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राउतमाथी भ्रष्टाचारको आरोप लागिरहेका बेला उनले राजीनामा दिनुको साटो उल्टै आफूलाई हटाउनु उचित नरहेको उनको दुःखेसो छ । रायले भने,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा भ्रष्टाचार भएको प्रारम्भिक अनुसन्धानबाट ठहर गरिसकेकोले मुख्यमन्त्री राउतले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनु पर्छ । उनले राजीनामा नदिए अख्तियारले विशेष अदालतमा मुद्दा गरे स्वतःपदमुक्त हुँदा पार्टीको प्रतिष्ठामाथी नै ठूलो आघात पुग्ने छ ।’
बैठकमा डा. बाबुराम भट्टराई तथा महेन्द्र यादव पक्षधरका केही नेताहरुले समेत मुख्यमन्त्रीको राजीनामा माग गरेको स्रोतको दावी छ ।
यस सम्बन्धमा सामाजिक विकास मन्त्री समेत रहेका जसपाका कार्यकारिणी समिति सदस्य नवलकिशोर साहले राय आक्रोशमा आएर मुख्यमन्त्री राउतको राजीनामाको माग गरेपनि त्यस सम्बन्धमा बैठकमा कुनै छलफल नभएको जानकारी दिए ।