केपी ओलीले अब सूर्यको धाक देखाएर केही हुँदैन, त्यसमा ग्रहण लागिसकेको छ: अध्यक्ष नेपाल

जनकपुरधाम, ८ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गरेका छन् ।
बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले केपी ओलीले सूर्यको धाक देखाएर केही हुन नसक्ने जिकिर समेत गरे ।
उनले भने,‘केपी ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसकेको छ । अब हाम्रो कलम चम्किरहेको छ । सत्य र न्यायको संदेश दिइरहेको छ । चुनावपछि नेकपा एमालेको हालत बेहाल, विचरा, विजोग हुनेछ ।’
नेपालले अहिले नेकपा (एस)ले दुईवटा प्रदेशमा सरकार चलाईरहेको भन्दै सातमध्ये दुईवटा प्रदेश एकीकृत समाजवादीको जिम्मामा परेको र सूदुरपश्चिम प्रदेशमा पनि यो पार्टी प्रदेशसभामा सबैभन्दा ठुलो दलको रुपमा कायम रहेको दावी गरे ।
उनले प्रदेश २ मा पनि केपी ओलीको समूहभन्दा धेरै माथि नेकपा (एस) रहेको तथा कर्णाली प्रदेशमा पनि केपी ओलीको पार्टीलाई धुलो चटाईदिएर उठ्नै नसक्ने अवस्थामा पुर्याउने काममा आफ्नै दलले भूमिका खेलेको धारणा राखे ।
उनले भने,‘सरकारमा लुम्बिनीम पनि हामी छौं । राष्ट्रियसभाको भएको उपनिर्वाचनमा बागमती प्रदेशमा हामीले स्वतन्त्र उम्मेदवार खडा गरेर खीमराज देवकोटालाई जिताएको पनि सत्य नै छ । शक्ति पनि नहुने, हैसियत पनि नहुने अनि सानो चोटिएर बसेको दलले यति गर्न सक्छ र ?’
अध्यक्ष नेपालले नेपालको राजनीतिमा अहिले सरकारमा भएका पार्टीहरुमध्ये नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितका दलले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलिरहेको दावी समेत गरे ।
हाम्रो पार्टीप्रति समर्थन बढिरहेको छ । सम्बन्ध विस्तार भईरहेको छ र जनताको ठुलो आकर्षण बढिरहेको छ । हजारौं हजार युवाहरु हाम्रो पार्टीमा प्रवेश गरिरहेका छन् । यो सबै अवस्थाले गर्दा केपी ओली अत्यन्तै छटपटिएका छन्,उनले भने,‘उनी छटपटिएर अन्टसन्ट बोलिरहेका छन् । उनलाई अन्टसन्ट बोल्न दिनुस्, म अन्टसन्ट बोल्दिन् । गालीगलौज गर्न दिनुस्, म गालीगलौज गर्दिन् । वहाँले आफ्नो चरित्र देखाईरहनुभएको छ । हामी राम्रो संस्कार देखाउँछौं ।’
उनले भने,‘हाम्रो पार्टी दक्षिणपन्थी भासमा भाँसिरहेको छैन् । हामी क्रान्तिकारी सोचका साथ अगाडि बढिरहेका छौं । हाम्रो पार्टीले राष्ट्रियताको झण्डालाई बुलन्द गरेर समाजवादको दिशामा अगाडि बढिरहेकोले भविष्य पनि यहि पार्टीकै छ ।’
अध्यक्ष नेपालले मंसिर १५ गतेदेखि आफूहरु स्टिकर वितरण गर्दै घरघरमा जनताको माझमा पुग्ने अभियान सञ्चालन गर्न गईरहेको समेत जानकारी दिए । हाम्रो पार्टी बलियो र वैचारिक जगमा उभिएको छ । विचार, नीति र पद्धतिलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं,’उनले भने ।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने बताएपनि प्रदेशको नामको सवालमा उनले केही बोलेनन् ।