नेपालले पहिलो जित निकाल्ने क्रममा भुटानलाई ८ विकेटले हरायो

काठमाडौं, ७ मंसिर । आइसिसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकाल्ने क्रममा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ आभेरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाललाई शानदार जित दिलाउन इन्दु वर्माले अविजित १८ रनको योगदान दिँदा सीता रानामगरले १७ र कप्तान रुविना क्षेत्रीले १० रन जोडे । कविता जोशी ८ रनमा अविजित रहिन ।
भुटानका लागि टाशी चेकीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । यसअघि युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो ।
भुटानका लागि नगावाङ चोडेनले १३, सोनम पाल्डनले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका लागि सीता रानामगरले ३, करुणा भण्डारीले १ विकेट हात पर्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
आफ्नो पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुँदा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा विहिबार कुवेतको सामना गर्दा भुटानले युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

