जाति र धर्म उल्लेख नगरेको भन्दै स्थानीयले गणकलाई लखेटे

जनकपुरधाम, ७ मंसिर । जनकपुरधाम उपमहानगरपालिकामा स्थानीयले एक गणकलाई लखेटेका छन् ।
जनगणनामा गणकले जाति र धर्म नै उल्लेख नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ रानीबजारमा स्थानीयले गणकलाई लखेटेका हुन् ।
गणकले फारममा धर्म नै उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका छन् ।
गणक आलोक देव आज घरदैलोमा गणना गर्न पुगेको बेला फारममा सबैकुरा उल्लेख गरेपनि जाति र धर्ममा स्पष्ट उल्लेख नगर्दा लफड़ा सुरु भएको थियो ।
गणकले समय अभाव र धेरै स्थान जानूपर्ने भएकोले घरमैं गएर लेख्ने बताएका थिए ।
गणकको जबाफ पछि स्थानीयले गणकलाई समातेर प्रहरीलाई बोलाएका थिए । स्थानीय प्रहरी आएरपनि कुनै कारवाही नगर्दा आक्रोशित बनेका जनकपुरधाम–१३ का बासिन्दाले गणकलाई लखेटेर भगाएका थिए ।