न्यायपालिकाको समस्यालाई छिटो समाधान गर्नुपर्छ: अध्यक्ष नेपाल

जनकपुरधाम, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकाको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपाालिकाभित्र देखिएको द्वन्दको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘यसका लागि सम्बन्धित पक्षहरुबाट चाँडै कुराकानी हुन्छ । हामीले पनि प्रधानमन्त्रीलाई यो बिषयमा पहल गर्न आग्रह गरिसकेका छौं । छिटो भन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता सम्वादभन्दा ठुलो अरु केहि हुन सक्दैन ।’
सरकारको सवालमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियूक्तिको काममा ढिलाई गरिरहेको बताए । उनले विभिन्न पार्टीहरुको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।
अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरुलाई सरकारले छिटो भन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखे ।
अर्को प्रसङ्गमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलिय गठबन्धन मिलेरै अगाढि बढ्ने विश्वास व्यक्त गरे ।