रौतहट, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सदरमुकाम गौर नगरपालिकामा छानबिन सुरु गरेको छ ।

आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो ।

नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर–२ को शिवालय मन्दिर निर्माण र गौर–५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।