रामसरोज यादवद्वारा प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

जनकपुरधाम, ६ मंसिर । नेपाली काँग्रेसका प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले पार्टीको प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।
यादवले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफुले सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए ।
उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउनुका साथै पार्टीको सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेता यादवले आफू ६८ वर्षको उमेरमा पनि यूवा रहेको र यूवा जस्तै जोश जाँगरका साथ काम गरिरहेको दावी समेत गरे । २०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका यादव १४ वर्ष नेपाली काँग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन् ।
अर्को प्रसंगमा बोल्दै नेता यादवले काँग्रेसको केन्द्रिय सभापति पदका लागि आफ्नो सर्वमान्य नेता उपसभापति विमलेन्द्र निधि रहेको बताए । उनले केन्द्रिय सभापति पदमा सम्पूर्ण काँग्रेसी कार्यकर्ताले नेता निधिलाइ सहयोग गर्ने विश्वास व्यक्त गरे ।