जनकपुरधाम, ६ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषाको १८ मध्ये ९ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

निर्धारित तालिकाबमोजिम धनुषामा जनकपुरधाम उपमहानगरपालिकासहित ९ स्थानीय तहमा नगर अधिवेशन सम्पन्न भएको हो ।

नेपाली काँग्रेस धनुषाका अनुसार सोमबार बिहानसम्म ९ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ । जसअनुसार जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, धनौजी गाउँपालिकामा रामनारायण यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र, क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हंसपुर नगरपालिकामा जयनारायण कापडि र औरही गाउँपालिकामा युगल सिंह सर्वसम्मत नगर सभापतिमा चयन भएका छन् ।

मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका र बटेश्वर गाउँपालिकामा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।
सहमति जुट्न नसकेका सबैला, गणेशमान चारनाथ, कमला, शहिदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।

सहमति जुट्न नसकेका अन्य पालिकाहरूमा पनि मंगलबारसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।