वडाध्यक्षमाथि दुर्व्यवहार भएको भन्दै नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी

जनकपुरधाम, ६ मंसिर । सरसफाइ कर्मचारीले एक वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा ताला लगाएका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सरसफाइ कर्मचारीले गाली गलौज गर्दै दुर्व्यवहार गरेपछि वडाध्यक्षहरुले नगर प्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
वडाध्यक्ष सिंहले भने,‘वडा नम्बर–४ स्थित कर्मचारी सञ्चय कोषको कार्यालय नजिक एउटा गाई मरेको थियो, त्यो गाई हटाइ दिन सफाइ कर्मचारीसँग आग्रह गरें । उसले त्यो गाई हटाउनुको साटो उल्टै गाली गलौज गर्न थाल्यो ।’ उनले नगर प्रमुख लालकिशोर साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप लगाए ।
नगर प्रमुख साह नगर सरसफाइ गर्नका लागि गम्भीर छैनन्, अब जनप्रतिनिधिलाई नै गाली गलौज तथा दुर्व्यवहार गर्न थालेपछि बाध्य भएर उपमहानगरको कार्यालयमा तालाबन्दी गर्नु परेको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।
उपमहानगरमा वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह , वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह लगायतका वडाध्यक्षहरु तालाबन्दीका लागि पुगेका थिए ।
वडाध्यक्षहरुले नगर प्रमुख साहविरुद्ध नारावाजी समेत गरेका थिए । दुर्व्यहार गर्ने कर्मचारीलाइ कारबाही गर, नगर प्रमुखले नैतिकताको आधारमा राजिनामा दे, जनकपुरधाम सफाइ गर लगायतका नारा लगाएका थिए ।
आफुहरुको माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।