जनकपुरधाम, ६ मंसिर । प्रदेश २ सरकारले प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न लागेको छ ।

सोमबार जनकपुरधामस्थित मधेश भवन परिसर भित्र प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि भुमि पुजन गरिएको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश छापाखाना स्थापनाका लागि भुमि पुजन गरेका छन् ।

छापाखाना स्थापना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछन् भने रेडबुक देखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना गर्न लागिएको बताइएको छ ।

प्रदेश मुद्रण छापाखाना भवनमा दुई वटा स्टोरेज ३६ स्क्वायर फिटमा रहने जनाइएको छ । २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रदेश मुद्रा छापाखाना भवन एक वर्ष भित्र जेबि शर्मा फाउन्डेशनले निर्माण गर्ने जनाइएको छ ।