सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी: ठाकुर

जनकपुरधाम, ५ मंसिर । सर्वसाधारण नागरिक तथा आफ्नो टोलवासीहरूका लागि विगतदेखि नै अहोरात्र खट्दै आएका सामाजिक युवा अभियन्ता दिपक ठाकुरले विकास निर्माणमा फड्को मार्न राजनीतिक रूपले पाइला अगाडि बढाएका छन् ।
ठाकुरले नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको जारी नगर अधिवेशनमा सह-सचिव पदमा उम्मेदवारी दिएका छन् ।
अभियन्ता ठाकुरले समाजको सेवाप्रति युवाहरू भूमिकाविहीन रहेको अवस्थामा आफूले उत्तरदायी भएर काम गर्दै आएको बताए । उनले आफूले नेतृत्व पाएको खण्डमा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दावी गर्दै अबको नेतृत्व युवाको काँधमा दिनुपर्ने धारणा राखे ।
वडामा सरसफाइका लागि संस्थागत रूपमा टोल सुधार समिति गठन गरी काम अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुर क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् ।
आफ्नो ज्यानको कुनै परवाह नगरी व्यक्तिगत र संस्थागत रूपमा कोरोना महामारीका बेला पनि नगरभरिकै जनताका लागि ठाकुर २४ औं घण्टा खटेर सामाजिक दायित्व निर्वाह गरिसकेका छन् ।
कोभिड-१९ महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पीडितहरूलाई राहत वितरण तथा सहयोगका कार्यहरू गरेकोमा उनी कोभिड हिरोको अवार्डबाट समेत सम्मानित भइसकेका छन् । उनले कोभिड हिरो अवार्डजस्ता कयौं सम्मान पाइसकेका छन् ।
अभियन्ता ठाकुरले काँग्रेसले वर्षौंदेखि युवा नेतृत्व नपाएकाले उल्लेख्य रूपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको दावी गर्दै पार्टीले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने जिकिर गरे ।
तपाईंको उम्मेदवारी किन र के का लागि भन्ने जिज्ञासामा अभियन्ता ठाकुरले भने,‘वर्षौंदेखि सीमित व्यक्तिले पद खोसेर समाजका लागि न त आफू केही गर्न सकेका छन्, न त अन्य कसैलाई अवसर नै दिएका छन् । म नगरवासीसहित समाजका लागि वर्षौंदेखि काम गर्दै आएको छु । पदमा गएपछि त्यसलाई राजनीतिक र संस्थागत रूपमा विकासका थप कामहरू प्रभावकारी रूपले अघि बढाउन उम्मेदवारी दिएको छु ।’
उनले आफू निर्वाचित भएपछि आफ्नो अनुभवका साथसाथै समाजका अन्य अनुभवी व्यक्तिबाट अनुभव लिँदै युवाहरूको साथ र सहयोगका साथै अघि बढने धारणा राखे ।
उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि नगर अधिवेशन अन्तर्गत सह-सचिव पदमा सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
ठाकुरले युवाको उम्मेदवारी कसैलाई पराजित गर्नका लागि नभई समाजमा आमुल परिवर्तन गर्न र राष्ट्रलाइ समृद्ध बनाउनका लागि रहेकोले युवाले आफ्नो नेतृत्व खोजेको बताए ।
ठाकुरसँगै नगर सह-सचिवमा लक्ष्मी यादव, राकेश कुमार पाठक, ज्ञानेश्वर प्रसाद मण्डल, उपेन्द्र यादव र हरिनारायण यादवले उम्मेदवारी दिएका छन् ।