काठमाडौं, ५ मंसिर । नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको उम्मेदवार बनेका पत्रकारहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि बनिरहेको प्रति ध्यानाकर्षण भएको जनाए ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले महासंघको केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले पदमा बहाल रहेसम्म कुनै पनि राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही कार्य कार्य गर्न नपाउने उल्लेख गरिएको छ ।

त्यसरी राजनीतिक दलको उम्मेदवार बनेका पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ अधिकार रहेको भन्दै त्यसतर्फ ध्यान दिन उनले सबैमा आग्रह गरे ।

महासंघको गत भदौ ९ गते मकवानपुरको दामनमा सम्पन्न बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा नम्बर ३.५ मा समेत ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ भन्ने व्यवस्था गरेको थियो ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासंघले त्यस्तो उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न समेत आग्रह गरेको छ ।

‘महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।