पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय एक बालकको मृत्यु

पर्सा, ५ मंसिर । पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका–६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साह रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति साढे ८ बजे ना ६ त ५०४५ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो । थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तराई अस्पताल लगिएको थियो ।
उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।