नेकपा (एस) प्रदेश २ सरकारमा सहभागी, उद्योगमन्त्री शत्रुधन महतो र कानुनमन्त्री प्रमोद यादवले लिए सपथ

जनकपुरधाम, ५ मंसिर । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार थप विस्तार भएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश २ सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् विस्तार भएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले आइतबार बिहान पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सपथ ग्रहण पश्चात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले सरकारमाथि भ्रष्टाचारको अरोप लागिरहेकोले यसलाई कम गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले चुरे तथा वनजंगल संरक्षण अभियानमा प्रदेश सरकार जोडतोडका साथ लाग्ने दावी समेत गरे ।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई दुई पदमुक्त गरेका थिए ।
राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राखेका थिए । तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाएका थिए ।