त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद, २ जना पक्राउ

काठमाडौं, ३ मंसिर । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद गरेको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो ।
दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीको साथबाट सुन बरामद भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले तरल बनाएर सुन ल्याएको देखिएको र त्यसलाई परीक्षणका लागि पठाउने तयारी गरिरहेको जानकारी दिए ।
उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।