दाहालको हत्या गरेको आरोपमा चारजना फरार अभियुक्त पक्राउ

मोरङ, ३ मंसिर । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेको आरोपमा प्रहरीले चारजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेका छन् ।
कात्तिक २८ गते राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।