आज कार्तिक पूर्णिमा, जनकपुरधाममा बिहानैदेखि श्रद्धालुको भीड (फोटोफिचर)

जनकपुरधाम, ३ मंसिर । आज कार्तिक पूर्णिमा श्रद्धाभक्तिपूर्वक मनाइँदै छ । कार्तिक पूर्णिमाको अवसरमा आज जनकपुरधाममा विशेष भीडभाड देखिएको छ । पवित्र सरोवर गंगासागरमा स्नान गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । गंगासागरमा स्नान गरेर जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्न टाढाटाढाबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् ।
हिन्दू धर्ममा पूर्णिमाको विशेष महत्व हुन्छ । कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमालाई कार्तिक पूर्णिमा भनिन्छ । कार्तिक पूर्णिमाका दिन माता लक्ष्मीको पूजा गरिन्छ । यस दिनमा गंगा स्नान, दीपदान, यज्ञ र भगवानको उपासनाको वशेष महत्व मानिन्छ । यस दिन गरिने दान–पुण्यबाट धार्मिक कार्य विशेष फलदायी हुने मान्यता छ ।
धार्मिक मान्यता अनुसार कार्तिक पूर्णिमाका दिन देवी–देवता स्वर्गबाट धर्तीमा आएर गंगास्नान गर्छन । कार्तिक पूर्णिमाका दिन पवित्र नदी, सरोवर र कुण्डमा स्नान गर्नु शुभ मानिन्छ । स्नानपश्चात दीपदानका साथै भगवान श्रीकृष्ण र राधाको पूजाको विधान छ । यस दिन गरिने दानबाट पुण्यफल दुई गुणा बढि प्राप्त हुन्छ ।
पूर्णिमाहरु मध्ये कार्तिक पूर्णिमालाई सबैभन्दा पवित्र मानिन्छ । कार्तिक पूर्णिमाका दिन ब्रह्मा, विष्णु र शिवको आराधना गरिन्छ । यस दिन तुलसी र शालिग्रामको विवाह समेत गराइन्छ । शास्त्रका अनुसार, यस दिन गंगा अथवा अन्य कुनै पवित्र नदीमा धार्मिक स्नान गर्दा भगवान विष्णुको कृपाले मोक्ष प्राप्ति हुन्छ ।