धनुषामा मेला हेर्न गइरहेको ट्याक्टर पल्टिँदा २ को मृत्यु, १८ जना घाइते

जनकपुरधाम, २ मंसिर । धनुषामा मेला हेर्न गइरहेको ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
भारतबाट धनुषा र सिरहाको सिमामा पर्ने कमला नदीको मेला हेर्न तथा स्नान गर्न जाँदै गरेको अनटेस्ट ट्याक्टर विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी भारत सितामढी बेला थाना एकरहियाका ४५ वर्षीया अम्बिका मण्डल र ६० वर्षीय रामदयाल राय यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले अभरटेक गर्ने क्रममा ट्याक्टर दुर्घटना भएको बताए ।
दुर्घटनामा परी घाइते भएका १८ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए । घाइतेहरु सबै भारतीय रहेको र उनीहरुमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।