कर्मचारी सञ्चयकोषले जग्गा खरिदका लागि ५० लाख सापटी दिने

काठमाडौं, २ मंसिर । कर्मचारी सञ्चयकोषले जग्गा खरिदका लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको हो ।
कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि मात्रै सापटी दिने गरेकोमा अब जग्गा किन्नलाई समेत ५० लाख रुपैयाँसम्म सापटी दिनेछ ।
यस्तै, कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलबबराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याजदर सात दशमलव ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्नेछ । हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ ।
जग्गा खरिदका लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरेपनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन । कोषले सञ्चयकर्तालाई घर निर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरलकर्जालगायतका सापटी समेत उपलब्ध गराउँदै आएको छ ।
यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ । कोषमा आबद्ध सञ्चयकर्ताबाट संकलन भएको स्रोतलाई उनीहरुकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको हो । कोषमा करिब ६ लाख सञ्चयकर्ता आबद्ध छन् ।
–फरकधार