युवा नेता राकेशको उम्मेदवारी नगरसभापतिमा

जनकपुरधाम, २ मंसिर । नेपाली काँग्रेसका लोकप्रिय युवा नेता राकेश विक्रम साहले नगरसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ४ गते हुन लागेको पालिका अधिवेशनमा युवा नेता साहले जनकपुरधाम नगरसभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
साहले गुटका कारण छरपष्ट बनेको काँग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ नगरअधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
उनले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगर सभापतिमा उम्मेदवारी दिने बताए । ‘अहिलेको हैसियतअनुसार मैले नगरसभापतिमा उठ्ने निर्णय गरेको छु,’ साहले भने, ‘अब पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन । फेद राम्रो बनाउनुपर्छ । म पार्टीको फेद दह्रो बनाउने भिजनका साथ अघि बढेको छु ।’
साहले नगर सभापतिमा चुनिएको अवस्थामा उपमहानगरपालिकाको अनियमितता र योजनाका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए । उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराब काममा विरोध गर्ने जनाए ।
‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको । राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ साहले भने, ‘म राजनीतिको पिएचडी गर्ने परीक्षामा सामेल भएको छु ।’
स्थानीय निकायको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिंदै राजनीतिमा प्रवेश गरेका साह पछिल्लो समय यहाँका युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन् ।
कोरोना महामारीको समयमा नेपाल सरकारले जारी गरेको लकडाउनको अवधिमा साहले उत्कृष्ट कार्यहरु गरी जनताको मन जित्न सफल भएका थिए । त्यसवापत उनलाई अमेरिकास्थित हामी नेपाली ग्लोबल संस्थाले सम्मान समेत गरेको थियो । उनले गरेका उत्कृष्ट कार्यहरुलाई मूल्यांकन गर्दै युवा तथा खेलकूद मन्त्रालयद्वारा प्रकाशित संकटका युवा सारथिहरु किताबमा पनि उनको कथा प्रकाशित गरिएको थियो ।
उनले गरेका कार्यहरुको मूल्यांकन गर्दै नेपाली काँग्रेसले उनलाई युरोपको डेन्मार्कसम्म तालिमका लागि पुग्ने अवसर समेत प्रदान गरिसकेको छ । नेपाल तरुण दलका उपाध्यक्ष समेत रहेका साहले कोरोनाकालमा बिरामीहरुलाई अस्पताल पुर्याउने देखि लिएर संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा पनि दिनरात खटेका थिए ।
राकेश जनकपुरधामको धार्मिक सम्पदा संरक्षण अभियानमा समेत निरन्तर लागिरहेका छन् । उनले निरन्तर यहाँका सार्वजनिक जग्गा, मठ मन्दिर, फुलबारी पार्क, बगैचा बचाउनमा समेत लागिपरेका छन् । साहले विभिन्न समयमा भएका अधिकार प्राप्तीको आन्दोलनहरुमा सडक तताउने देखि तरुण दलको धनुषा जिल्ला भरी विस्तार गर्न अहम भूमिका निर्वाह गरेका छन् । संगठनलाई जनलोकप्रिय र चलायमान बनाउन उनको भूमिका अतुलनिय छ ।
प्रत्यक्ष राजनीतिमा संलग्न भएपनि समाजसेवामा सक्रिय भइ संगठनलाई ग्रासरुटमा लोकप्रिय बनाउन उनको भूमिका प्रशंसायोग्य रहेको यहाँका बुद्धिजिवीहरुको धारणा छ । नगरबासीको घरघरमा पुगि सुख दुःखमा साझेदारी गरेका साह जनकपुरधाम उपमहानगरपालिकाको भ्रष्टाचार र बेथिति विरुद्ध विगतदेखि नै सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।