मन्त्री यादवलाई आफ्नै वडामा काँग्रेसका कार्यकर्ताले घेरे

जनकपुरधाम, १ मंसिर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–६ को वडाअधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेरेका छन् ।
मन्त्री यादवलाई उनकै वडामा कार्यकर्ताहरुले घेराउ गरेका हुन् ।
मन्त्री यादवले जर्बजस्ती वडा अधिवेशन गराउन खोज्दा स्थानीय काँग्रेसी कार्यकर्ताहरुले उनलाई घेराउ गरेका छन् । मन्त्री यादवले लुकाएर गोप्य स्थानमा आफ्ना गुटका कार्यकर्तालाई मात्रै बोलाएर मतदान गराइरहेको थाहा पाएपछि स्थानीय कार्यकर्ताहरुले घेराउ गरेको नेपाली काँग्रेसका स्थानीय नेता विनोदकुमार यादवले जानकारी दिए । मुखियापट्टी मुसहरनिया वडा नम्बर–५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी रुपमा माइन्युट गरेर मन्त्री यादवले वडाधिवेशन गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।
मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट अधिवेशन गराउन खोजेपछि आफुहरुले अधिवेशन रोक्न खोजेको स्थानीय काँग्रेसका कार्यकर्ता जयप्रकाश यादवले बताए । उनले मन्त्री यादवलाई आफूहरुले घेरेर राखेको बताए ।
उनले भने, ‘उहाँ भुँइतहमा खटिने कार्यकर्ताहरूलाई तह लगाउने हिसाबले अगाडि बढिरहनु भएको छ । भाइ भतिजाप्रति उहाँको सदभाव देखियो । वास्तविक कार्यकर्तालाई पछाडि पार्न खोजिरहनु भएको छ । त्यसैले हामीले घेराउ गरेका हौं ।’
सो क्रममा काँग्रेसका कार्यकर्ता र प्रहरी बिच सामान्य झडप समेत भएको थियो ।
मन्त्री यादवकै हस्तक्षेपका कारण साविकको बहेडाबेला र हाल मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–५ र ६ मा वडा अधिवेशन हुन सकेको छैन । मन्त्री यादवले त्यहाँका काँग्रेसका पुराना नेता कार्यकर्तालाई तह लगाउने व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ ।