प्रदेश २ का चार मन्त्रालय महिनौंदेखि सचिवविहीन

जनकपुरधाम, १ मंसिर । प्रदेश २ का चार मन्त्रालय महिनौंदेखि सचिवविहीन रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्रीले आफ्नै मातहतमा राखेको वाणिज्य तथा आपूर्ति एवं कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय महिनौंदेखि सचिवविहीन अवस्थामा रहेको छ ।
मन्त्रालयहरुमा सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित हुनुका साथै सचिवको अभावमा मन्त्रिपरिषद्को बैठक पनि लामो समयदेखि बस्न सकेको छैन । त्यस्तै, मन्त्रालयहरुको आर्थिक र प्रशासनिक गतिविधि समेत दुई महिनादेखि ठप्प रहेको छ ।
मन्त्रालयहरुमा सचिव नहुँदा तल्लो तहका कर्मचारीहरु हाजिर गरी घर फर्किने गरेका छन् । कर्मचारी नबस्दा मन्त्रालयहरू सुनसान छन् । मन्त्रालयहरूको बजेट खर्चसमेत प्रभावित भएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय दुई महिनादेखि सचिवविहीन छ । मन्त्रालयका तत्कालीन सचिव वीरेन्द्र यादवको गत भदौ महिनामा सरुवा भएपनि उनको स्थानमा अर्का सचिव आएका छैनन् ।
सचिव नहुँदा उपसचिव अवध कुशवाहालाई निमित्त सचिवको जिम्मेवारी दिइयो । तर, मन्त्री भरतप्रसाद साहसँग उनको खटपट भएपछि कात्तिक १ गतेदेखि नै उनी बिदामा बसेका छन् । कुशवाहाको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
त्यस्तै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि विगत दुई महिनादेखि सचिवविहीन रहेको छ । उता, मुख्यमन्त्री लालबाबुर राउतले आफ्नै मातहतमा राखेको वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय पनि सचिवविहीन छ । यी दुई मन्त्रालयको कार्यालय र कर्मचारीसमेत अहिलेसम्म व्यवस्थापन गरिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३ जना सचिव हुनुपर्नेमा अहिले एक जनाको भरमा मात्र चलिरहेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले सचिव नहुँदा धेरै महत्वपूर्ण कामहरू रोकिएको जानकारी दिए । उनले मन्त्रिपरिषद्को बैठक समेत बस्न नसकेको बताए । राउतले सरकार गठन भएदेखि नै सचिव र कर्मचारीको अभाव झेलिरहेको बताए ।
प्रमुख सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको बताए ।