जनकपुरधाम, १ मंसिर । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ ।

कलेज व्यवस्थापनले आन्दोलनरत कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरी श्रम शोषण गरेको भन्दै कलेजका कर्मचारीहरूले बुधबार बिहान तालाबन्दी गरेका थिए ।

छलफलबाट समाधान हुने कुरामा पनि कर्मचारीले तालाबन्दी गर्दा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाएर ताला फोड्न लगाइएको कलेजका प्रशासक दयानन्द झाले बताए ।

कर्मचारीले कलेजमा तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको उनले जानकारी दिए । झाले तालाबन्दी खुलेपछि पठनपाठन सुरु भएको बताए । उनले आन्दोलनरत कर्मचारीलाई वार्तामा आउन अनुरोध समेत गरेका छन् ।

यता, कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १०० जना कर्मचारी आन्दोलनमै रहेको बताए । कर्मचारीले विगत १५ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज आजको मितिसम्म पनि जनअपेक्षित रूप लिन नसकेको उनको गुनासो छ । संस्थाका सञ्चालक ओमप्रसाद पाण्डेयले विभिन्न मितिमा गरिएको लिखित तथा मौखिक सम्झौता एकतर्फी रुपमा पटक–पटक उल्लंघन गरेको कर्मचारीको आरोप छ ।

यसअघि पनि उनीहरू कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकल्टीबीच तलबभत्ता, सञ्चयकोष, दसैंभत्तालगायत बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढीकरणका लागि भन्दै कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनशनमा बसेका थिए ।

आमरण अनशनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदीप साहले ३ बुँदे सहमतिपश्चात् गत मंसिर १३ गते अनशन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकाले बाध्य भएर आफूहरू दोस्रोपटक रिले अनशनमा बसेको उनीहरूले बताए ।

आन्दोलनरत कर्मचारीले आफूहरूको ७ महिना बराबरको तलब, ६ वटा दसैँ खर्च, ७ वर्षको सञ्चयकोष, अस्पतालको गुणस्तरीय सेवा सुविधा सुधार, कर्मचारीउपर गरिएको कारबाही फिर्ता र विगतमा भएका सहमतिको पालना गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

कलेज प्रशासनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए । कलेज प्रशासनसँग भएका सम्झौता तथा जायज माग सम्बोधन नभएको भन्दै आन्दोलित कर्मचारीले पुनः तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।