न्यायालयको विवाद एक/दुई दिनभित्रै समाधान हुन्छः अध्यक्ष प्रचण्ड

जनकपुरधाम, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवाद एक/दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चाकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंगलबार ५ दलिय गठबन्धनको समन्वय समितिको बैठकले अदालतमा देखापरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
यो समस्याको छिटो भन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको छ,’उनले भने,‘त्यसको निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा समेत व्यक्त गरेका छौं। एक/दुई दिनभित्रै समस्या समाधान हुन्छ ।’
प्रधानन्यायाधिशको विषय अदालतभित्रैबाट सुल्झियोस भनेर आफूहरुले वक्तव्य दिइसकेको हुनाले अहिले त्यो विषयमा बढि बोलिराख्नु नपर्ने समेत उनले बताए ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी र एक कोभिड अस्पतालको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न उनी बुधबार महोत्तरी पुगेका छन् ।
सो कार्यक्रमहरु गत शनिबार नै आयोजना गर्ने निर्धारण भएपनि प्रचण्ड बिरामी भएपछि स्थगित गरिएको थियो ।