जनकपुरधाम, ०१ मंंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहलाई अर्धनग्न गरी नगर भरि घुमाएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले धरौटीमा रिहा गरेको छ ।

कुशवाहामाथि अमानवीय व्यवहार प्रदर्शन गरेका जनमत पार्टीका १७ जना नेता/कार्यकर्ता धरौटीमा रिहा भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले जिल्ला अदालत धनुषाको आदेशअनुसार १० जनालाई ५०÷५० हजार र ७ जनालाई १÷१ लाख रुपैयाँ धरौटी तिराएर रिहा गरिएको बताए ।

जनमतका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई कार्तिक ४ गते दिउँसो कुटपिट गर्दै कार्यालयबाटै अर्धनग्न गरी नगर घुमाएका थिए ।

५ गते सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेकाहरुमध्ये १७ जनामाथि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा अपराधी प्रवेश तथा अपराधिक उपद्रव शीर्षकमा मुद्दा चलाइएको थियो ।

मुद्दा चलाइएकाहरु सिरहा, सर्लाही र महोत्तरीका कार्यकर्ताहरु थिए । उनीहरुमध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना कार्यकर्ता थिए । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सो घटनालाई जनकारबाही भएको र यसमा जनताहरुको सहभागिता रहेका बताएका थिए ।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विजयकुमार यादव, संजय प्रधान, धनिकलाल कापर, कैलाश प्रसाद साह, श्याम सुन्दर मण्डल, सिरहाका महेश कुमार यादव, सौदी मण्डल, दुर्योधन यादव, प्रेम किशोर यादव, राम करण यादव, दिनेश रजक साफी, अमरनाथ साह, महोत्तरीका संजय कुमार साह, विरेन्द्र महतो, विक्रम कुमार साह र सर्लाहीका संजय कुमार सिंह रिहा भएका छन् ।

यस घटनामा प्रहरीले सुरुमा १० जनालाई नियन्त्रणमा लिएको थियो भने पछि थप ५२ जनालाई नियन्त्रणमा लिएका थिए । प्रहरीले अबेर राति ४५ जनालाई छाडेको थियो भने १७ जनामाथि मुद्दा चलाइएको थियोे ।