धनुषामा एक युवकले सुसाइड नोट लेखेर गरे आत्महत्या

जनकपुरधाम, ३० कार्तिक । धनुषामा एक युवकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति ससुराली घरमै आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । महतोको खल्तीमा सुसाइड नोट फेला परेको उनले बताए ।
महतोले लेखेको सुसाइड नोटमा आफूलाई ससुराली पक्षका सबै सदस्यहरुले मिलेर निर्घात कुटपिट गरेकाले आफ्नो मृत्यु भए त्यसको जिम्मेवार ससुराली पक्ष नै हुने लेखेका छन् ।
‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुनेछन’, उनले सुसाइड नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले कार्तिक २९ गतेका दिन बेलुकातिर सबै जना मिलेर कुटेका छन् र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्महत्या गर्न गइरहेको छु ।’
महतोले मिथिला नगरपालिका वडा नम्बर–५ श्रीपुरस्थित ससुराली घरमा झुण्डेर आत्महत्या गरेका हुन् । झुण्डेको देखेपछि सुसुरालीका सदस्यले उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
पोस्टमार्टमका लागि उनको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । अनुसन्धानपश्चात् थप कुरा खुल्ने उनको भनाइ छ ।
महतोले ५ वर्षअघि विवाह गरेका थिए । उनका दुई छोरा छन् । घरभन्दा केही पर मात्र ससुराली भएकाले प्रायः उनी ससुरालीमै बस्ने गरेका थिए । त्यस क्रममा ससुराली र उनीबीच बेलाबेला विवाद हुने गरेकाचे स्थानीय बताउँछन् ।
घटनापछि महतोका सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


