जनकपुरधाम, २९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आर्थिक वर्ष २०७७/०७८ मा कुल २ हजार ५९७ वटा प्रारम्भिक उजुरीहरु दर्ता भएको जनाएको छ ।

ति उजुरीहरुमध्ये १ हजार ४०१ वटा फछ्र्यौट भएको र यसमा ९ वटा स्टिङ्ग अपरेशन भई १ करोड २९ लाख ९५ हजार ५९५ रुपैयाँ बरामद भएको जनाएको छ । २०७३ साउन १ गतेदेखि सञ्चालन भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १५ जना प्रतिवादी उपर मुद्दा दायर भएको र १ हजार १९६ वटा बाँकी उजुरीहरु आगामी आर्थिक वर्षमा जिम्मेवारी सरेको उल्लेख गरेको छ ।

सोमबार प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष अख्तियारको कार्यालय बर्दिबासका कार्यालय प्रमुख कृष्ण प्रसाद सापकोटाले अख्तियारले गरेका क्रियाकलाप तथा वार्षिक गतिविधिहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका छन् ।

कार्यालय प्रमुख सापकोटाले अख्तियार बर्दिबासमा चालु आर्थिक वर्षमा १ हजार ५२१ वटा उजुरीहरु रहेको बताए । उनले गत वर्षको १ हजार १९६ र चालु आर्थिक वर्षको असोजसम्ममा ३२५ वटा उजुरी रहेको बताए । सो मध्ये १५६ वटा उजुरी फछ्र्यौट भईसकेका छन् ।

चालु आर्थिक वर्षमा रहेको उजुरीमा सबैभन्दा बढी स्थानीय तह विरुद्धको उजुरी रहेको उनले बताए । स्थानीय तहविरुद्ध ९५२ वटा उजुरी परेका छन् । त्यस्तै संघ तर्फ ४९१ र प्रदेश विरुद्ध ७५ वटा उजुरीहरु परेका छन् ।

प्रदेश तर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको छ भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यन्यायाधिवक्ताको कार्यालय विरुद्ध कुनै उजुरी नपरेको सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा गरेका क्रियाकलापहरु तथा बार्षिक गतिविधिहरु समेटी प्रकाशित भएको ३१ औं वार्षिक प्रतिवेदन, नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरिएको छ ।

अख्तियारको कार्यालय बर्दिबासको कार्यक्षेत्र धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, सिरहा, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा गरी कुल ९ वटा जिल्लाहरुमा रहेको छ ।