जनकपुरधाम, २९ कार्तिक । सर्लाहीबाट १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुईजना जनप्रतिनिधि पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटेको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर-११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

वडा सदस्यद्वय साह र रायले ढलान सम्बन्धी काम सम्पन्न भएपश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियारबाट खटेको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार बर्दिबासका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर-७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता रिसालले बताए ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।