जनकपुरधाम, २९ कार्तिक । प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ, बेची बचाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दावी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ । त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर अनुसन्धान अगाडी बढछ ।’

उनले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए ।विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने सापकोटाले जानकारी दिए ।

उनले भने,‘खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परिक्षण भइरहेको र यसमा पनि अनियमितता देखिए कारवाही प्रक्रिया अगाडी बढाइनेछ ।’

प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।