जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबिचको विवाद साम्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सोमबार दुबै पक्षबिच ७ बुँदे सहमतिभएसँगै त्यहाँको अवस्था साम्य भएको हो ।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिँदा पटक पटक झडप हुँदै आएको थियो ।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफल पछि सोमबार ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण पालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।

उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिती समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए । उनले सहमतिसँगै निषेधाज्ञा हटाइने जानकारी दिए ।

रुपैठामा भएको झडपमा परी २ प्रहरी गरी ६ जना घाइते भएका थिए ।