काठमाडौं, २९ कार्तिक । प्रेस काउन्सिल नेपालले मिडिया र पत्रकारलाई अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ ।

मिडिया विकास कोषको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वीकृत कार्यक्रम अनुसार अनुदानका लागि काउन्सिनलले सूचना जारी गरेको हो । अनुदानका लागि तोकिएको सर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।

काउन्सिले निवेदनका आधारमा २० जिल्लामा एक÷एकवटा दरले ल्याप्टप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एक/एकवटा क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत, दुईवटा प्रेस स्थापनाका लागि अनुदान, दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई/दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिइनेछ ।

यस्तै, पत्रकारका लागि प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी ७ जनालाई अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

सहायताका लागि एउटा मिडियाबाट एक जना पत्रकारले कुनै एक सुविधाका लागि मात्रै निवेदन दिन पाउने छन् भने सञ्चार गृहले पनि कुनै एक सुविधाका लागि मात्रै निवदेन दिन पाउनेछ ।

काउन्सिलले दुर्गम, स्थानीय र यसअघि सुविधान नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकता दिइने बताएको छ ।