काठमाडौं, २९ कार्तिक । साहित्यकार विजय बजिमयको निधन भएको छ ।

२०१४ सालमा पोखरामा जन्मिएका बजिमय जन्मजात शारीरिक रूपमा अशक्त थिए । आजीवन अविवाहित बजिमयले कथा, कविता, गीत गजलका माध्यमबाट नेपाली साहित्यको सेवा गर्दै आएका थिए ।

उनका ‘समय भनेको समय हो’ कविता संग्रह, ‘अन्त्वतोगत्वा’ कथा संग्रह लगायतका कृति प्रकाशित भएका छन् । उनका केही कृति प्रकाशनको तयारीमा थिए ।

उनलाई व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मान लगायतका विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । बजिमयले दर्जन बढी साहित्यिक पत्रिकाको सम्पादन गरेका छन् ।

सांस्कृतिक संस्थानका अध्यक्ष समेत भएका बजिमयले नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहेर काम गरेका थिए ।