जनकपुरधाम, २९ कार्तिक । नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये २० वडामा सहमतिमा नेतृत्व चयन भएको छ ।

सहमति हुन नसकेका वडा नम्बर ८, ९, १०, २३ र २५ मा सोमबार मतदान भईरहेको बताइएको छ । सभापतिका लागि बढी आकांक्षी भएपछि ती वडाहरूमा सहमति जुट्न सकेको छैन् ।

नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरीले २० वटा वडामा सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए । सहमति हुन नसकेका वडामा सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन भईरहेको उनले बताए ।

गिरीकाअनुसार जनकपुरधामका साथै जिल्लाका अधिकांश स्थानीय तहका वडाहरूमा पनि सहमतिमै नेतृत्व चयन भएको छ । जनकनन्दनी, मिथिला, नगराईनलगायतका स्थानीय तहका वडाहरूमा सहमतिमै नेतृत्व चयन भएको उनले बताए ।

‘सबै ठाउँमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेका थियौं, ७५ प्रतिशतभन्दा बढी ठाउँमा सहमति नै भएको छ,’ गिरीले भने,‘केही ठाउँमा विवाद देखियो । त्यहाँ निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन्छ ।’

गिरीले जिल्लाका अन्य स्थानीय तहका अधिकांश वडाहरूमा पनि सहमतिमै नेतृत्व चयन भएको जानकारी दिए ।