रौतहटका शिक्षकहरु तलब माग्दै आन्दोलनमा

रौतहट, २९ कार्तिक । रौतहटका शिक्षकहरु तलब माग्दै आन्दोलनमा उत्रेका छन् ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु दशैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा समेत नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।
शिक्षक तथा कर्मचारीहरु नगरपालिका कार्यालयको अगाडि भेला भएर जनप्रतिनिधिको लापरबाहीका कारण विगत ५ महिनादेखि आफूहरुले तलबभत्ता पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।
जनप्रतिनिधि बीच रकमको भागबण्डा नमिल्दा फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयका झण्डै २५० जना शिक्षक र अन्य कर्मचारी गरी ३ सयको संख्यमा शिक्षक तथा कर्मचारीहरुले तलब पाउन नसकेको शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।
यस सम्बन्धमा फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएकोले तलब दिने अख्तियारी हालसम्म नआएको बताए ।