जनकपुरधाम, २८ कार्तिक । जनकपुरधाममा हिन्दू र मुस्लिम समुदाय बिच भएको झडपको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले आइतबार राती १० बजेसम्मका लागि लगाइएको निषेधाज्ञालाई बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२० मा लगाएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मका लागि बढाएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा पुनः बढाइएको बताए ।

वडा नम्बर-२० देवपुरा रुपैठामा छठ पर्वका दिन स्थानीय तेलिया पोखरीमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा दुबै समुदायबिच विवाद हुँदा स्थानीय प्रशासनले शनिबारदेखि आइतवार रातीसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९ को उपदफा ३(क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न रोक लगाएको छ ।

पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।