नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मन्त्री रायलाई फिर्ता बोलाइँदै

जनकपुरधाम, २८ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट एकजना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई सरकारबाट फिर्ता बोलाउन लागेको स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि मन्त्री रायलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतका अनुसार मन्त्री रायले राजीनामा दिएलगत्तै नेकपा एकीकृतलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतको योजना रहेको छ ।
नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको स्रोतको भनाइ छ ।
मन्त्री रायले राजीनामा दिएपछि सरकारमा सहभागी हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोलाई दिईनेछ ।
मुख्यमन्त्री राउतले आफ्नो अधिनस्थ राखेका दुई मध्ये थप एक मन्त्रालय पनि सो पार्टीलाई दिने जनाइएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पनि मुख्यमन्त्री राउतले राजीनामा दिन निर्देशन दिएका छन् ।