काठमाडौं, २८ कार्तिक । शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महिनामा खुल्नेछ ।

खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महिनामा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन साउनमा हुनेछ ।

अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महिनामा शिक्षक सिफारिस गरिनेछ । प्राथमिक तहको हकमा भने शिक्षक सिफारिस गर्न कात्तिक लाग्नेछ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन आगामी मंसिरमा नै गरिनेछ ।

यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । आयोगका अनुसार यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिनेछ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सर्वाजनिक गरिनेछ भने माघदेखि चैतसम्म सिफारिस गरिनेछ ।

त्यस्तै आयोगले करार सूची आगामी २०७९ सालको मंसिरमा सार्वजनिक गर्नेछ । वार्षिक कार्यतालिकाअनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी असारमा परीक्षा र नतिजा आगामी असोजमा हुनेछ ।

अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसिरबाट हुने जनाइएको छ ।