काठमाडौं, २८ कार्तिक । ललितपुरमा नेकपा एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । उनीहरु १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् ।

शनिबार भएको निर्वाचनमा ललितपुर–३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् ।

ललितपुर–१ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र चेतनाथ संजेल,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, एमाले ललितपुर सचिव पुरुषोतम आचार्य, महिलातर्फ तारा सन्जेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएको एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले बताए ।

आचार्यका अनुसार ललितपुर–२ बाट एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, रामेश्रवर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत र महिलातर्फ मन्जरी शाक्य चयन भएका छन् । जिल्लाबाट दलित कोटामा दिनेश अछामी सर्वसम्मत भएका छन् ।

१०–१२ मंसिरमा हुने महाधिवेशनमा देशभरका ७७ जिल्ला र जनवर्गीय संगठनका पाँच प्रतिशत मनोनयन समेत गरी १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेले गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरेको थियो । जिल्ला र प्रदेशको नेतृत्व चयन भइसकेको छैन ।

–न्युज कारखाना