जनकपुरधाम, २८ कार्तिक । नेपाली काँग्रेसले आज धनुषाका १६९ वडामा वडा अधिवेशन गरिरहेको छ ।

धनुषामा १ उपमहानगरपालिकाका २५, ११ नगरपालिकाका ११३ र ६ गाउँपालिकाका ३१ वडाहरु गरी कूल १६९ वडाहरुमा आज नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ ।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले वडा अधिवेशनले पार्टीको वडा सभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सह–सचिव र सदस्यसहित ९ देखि ११ सदस्यीय कार्य समिति चयन गर्ने जानकारी दिए । त्यस्तै समितिका कोषाध्यक्ष भने वडा सदस्यबाट मनोनित गर्ने प्रावधान रहेको उनले बताए । वडा अधिवेशनले प्रत्येक वडाबाट १५ देखि २५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ ।

नेपाली काँग्रेसका नगर सभापति मनोजकुमार साहले १५० जना क्रियाशील सदस्य भएका वडामा १५ जना क्षेत्रीय प्रतिनिधि र २५० जनाभन्दा बढी क्रियाशील सदस्य भएका वडामा २५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने वैधानिक व्यवस्था रहेको बताए । जसअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका ५ वटा वडामा २५ जना र अन्य २० वडामा १५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने उनले जानकारी दिए ।

वडा अधिवेशनले नै बुथ कमिटी गठन गर्नेछ । १५ जना क्षेत्रीय प्रतिनिधि भएका वडामा खुला तर्फ ९ मध्ये ६ पुरुष र ३ महिला तथा दलित, आदिवासी, जनजाति, खस आर्य, मुस्लिम र अल्पसंख्यक तर्फ ४ पुरुष र २ महिला निर्वाचित हुनेछन् । २५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने वडाको अनुपात भने यसरी नै रहनेछ ।

क्षेत्रीय प्रतिनिधिहरुले नै जिल्लाका प्रत्येक प्रदेशसभा क्षेत्रबाट १५ जनाका दरले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछन् भने केन्द्रिय महाधिवेशनका मतदाताका रुपमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था रहेको जनाइएको छ ।

क्षेत्रीय प्रतिनिधिहरु नगर सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापति पदका लागि उम्मेदवार तथा मतदाता हुनेछन् ।