काठमाडौं, २८ कार्तिक । आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । विभिन्न ८ प्रकारका दीर्घ रोग लागेका व्यक्तिहरुलाई फाइजर खोप लगाउन लागिएको हो । आजदेखि सुरू भएको खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ ।
देशभरका २४ वटा खोप केन्द्रबाट दीर्घरोगीहरुले खोप लगाउन सक्नेछन् । यसअघि तोकेका खोप केन्द्रबाट फाइजर खोप लगाउन पाइनेछैन । खोप बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लगाइनेछ ।

खोप सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक जना चिकित्सक र अस्पतालले तथ्यांक हेर्ने व्यक्ति परिचालन गरेर खोप अभियानको व्यवस्थापन गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

फाइजर खोप लामो समयदेखि मुटुका बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, लामो समयदेखि छातीको समस्या भई चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामीलाई लगाइनेछ ।

त्यस्तै अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी, कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति तथा मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिलाई समेत फाइजर खोप लगाइनेछ ।

खोप लगाउने पाइने २४ अस्पतालहरु :

काठमाडौं उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, शहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पताल तोकिएको छ ।

त्यस्तै उपत्यकाका बाहिरको हकमा भने मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल

भेरी अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल

धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल, सेती अस्पताल र डडेल्धुरा अस्पताल खोप केन्द्र तोकिएको छ ।