रौतहट, २८ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिकामा भारतीय नम्बर प्लेटको कार पोखरीमा खसेर दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाई गाउँपालिका–४ झुनखुन्वाचोक नजिक भारतीय नम्बर प्लेट युके १२ सी २९०० नम्बरको कार शनिबार राति करिव १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको एसपी घिमिरेले जानकारी दिए । उनकाअनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

पोखरीमा खसेको कारको सिसा फुटाएर बाहिर निकालिएका मृतकहरुको शव पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको एसपी घिमिरेले बताए ।

उनीहरु रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित आफन्त नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएर भारत फर्किँदै थिए ।