विश्वकप युरोपियन छनोटमा डेनमार्कको लगातार नवौँ जित

एजेन्सी, २७ कार्तिक । विश्वकप युरोपियन छनोटमा डेनमार्कले लगातार नवौँ जित दर्ता गरेको छ । उसले शुक्रबार राति भएको खेलमा फारोइ आइल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन आन्द्रेस ओल्सेन, जेन्स लार्सेन र जोकिम मेहेलले १–१ गोल गरे । फारोइ आइसल्यान्डका कल्मिन्ट ओल्सेनले १ गोल फर्काए ।
खेलको १८ औँ मिनेटमा आल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा लार्सेनले टोलीको अग्रता दोब्बर बनाए । ८९ औँ मिनेटमा ओल्सेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । थप गरिएको समय मेहेलले गोल गर्दा डेनर्माक ३–१ ले विजयी भयो ।
समूह ‘एफ’मा शीर्ष स्थानको डेनमार्कले ९ खेलबाट २७ अंक जोड्दा पराजित फारोइ आइसल्यान्ड समान खेलबाट ४ अंकका साथ पाँचौ स्थानमा छ । यही समूहको अन्य खेलमा स्कटल्यान्डले मोल्डोभामाथि २–० र अस्ट्रियाले इजरायलमाथि ४–२ को जित हात पारे ।