दर्ता बिनाको ज्यानमारा तराई राजधानी हस्पिटल

जनकपुरधाम, कार्तिक २७ गते । स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानून बमोजिम स्थापन भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ ।
पच्चिस शैयासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र पच्चिस शैयादेखि माथिका अस्पतालहरु सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ ।
तर, जनकपुरधाममा भने यस्तो केहि देखिंदैन । यहाँका अधिकांश अस्पतालहरु दर्ताबिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन् । यस्ता अस्पतालहरु दर्जनौंको संख्यामा रहेपनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन् । यहाँ कुन कुन निजी अस्पताल र पोलीक्लिनीक तथा क्लिनीकहरु दर्ता गराई सञ्चालन भईरहेका छन्, त्यसको उपमहानगरपालिकासँग कुनै डाटा नै छैन् ।
यस्तै अवैध अस्पताल मध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.भगवान सहनी र डा.गंगाप्रसाद यादवले सञ्चालन गरेको तराई राजधानी हस्पिटल । २२ शैयाको यो अस्पताल विगत एक बर्षदेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ । दर्ताबिना नै सञ्चालित यस अस्पतालले कयौं नवजात शिशुलाई समेत मृत्युको मुखमा पुर्याइसकेको छ । तर, सरकोकारवाला निकायले अझै यस अस्पतालमाथि कुनै कारवाही गरेको छैन् ।
सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यो अस्पताल सञ्चालित छ । यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर तराई राजधानी हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन् ।
अस्पताल प्रवेश गर्ने मुख्यद्वारको बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बर नलेखि त्यसलाई दर्ता नम्बर भनेर उल्लेख गर्दै बिरामी ठग्दै आएको पाइएको छ । यस अस्पतालले २०७७ असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई त्यसको दर्ता नम्बर २४३१५५ पाएको छ । तर, बोर्डमा भने कम्पनी रजिष्ट्रारको दर्ता नम्बरलाई बिरामी झुक्याउन दर्ता नम्बर भन्दै उल्लेख गरिएको छ ।
यस अस्पतालको दर्ताको बारेमा न त जनकपुरधाम उपमहानगरपालिकालाई कुनै जानकारी छ न सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई नै । जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय साहले तराई राजधानी अस्पतालले दर्ता प्रक्रियामा जाने भन्नेबारे आफूहरुलाई अहिलेसम्म कुनै लिखित जानकारी नगराएको बताए ।
‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनैपनि कागजात आफू कहाँ आएको छैन् । अस्पताल सञ्चालन बारे हामीलाई कुनै जानकारी छैन्,‘उनले भने । त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले पनि तराई राजधानी अस्पतालको दर्ता सम्बन्धी कुनै पनि फाईल निर्देशनालयमा नरहेको जानकारी दिए । उनले यदि यो अस्पताल २२ शैयाको मात्रै छ भने उसलाई आफ्नो बोर्डमा अस्पताल भनेर लेखाउने कुनै कानूनी आधार नरहेको समेत बताए ।
अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशच शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने नियम रहेपनि यस अस्पतालले त्यस्ता बिरामीसँग पनि अवैधरुपमा रकम असुल गरिरहेको छ ।जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने सुशील राउतले भने,‘छोटो समयमै धेरै आम्दानी हुने भएकाले पछिल्लो समय स्वास्थ्य संस्थाहरुलाई पनि व्यवसायको रुप प्रदान गरिएको छ । चिकित्सकहरु व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तर सरोकारवाला निकाय मानव स्वास्थ्यमाथि भइरहेको यति गम्भीर लापरबाहीका घटनामा समेत उदासीन र मौन देखिँदै आएका छन् ।’
‘चिकित्सा पेसा एक मर्यादित, उत्तरदायी र संवेदनशील भएकाले जिम्मेवार मानिन्छ । तर, सो अस्पतालका सञ्चालकद्वय डा. भगवान सहनी र डा.गंगाप्रसाद यादवले मानव स्वास्थ्यको कुनै वास्ता नै नगरी गैरकानूनी रुपमा अस्पताल सञ्चालन गरेर खेलवाड गर्दै आएका छन्,’ स्थानीय जिवेन्द्र झाले भने ।
सरोकारवाला निकायमा कार्यरत अधिकारीहरूले अवैध धन्दा रोक्न छाडेर आर्थिक चलखेलमै चुक्ने गरेको उनको आरोप छ ।
पेशागत मूल्य मान्यता र मर्यादा भुलेर नाफाखोर चिकित्सकहरु नागरिकको स्वास्थ्यसँग खेलबाड गर्दै अपराध कर्मको सारथी बन्ने गरेको स्थानीय सुभाष कर्णको आरोप छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले गैरकानुनी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउने बताए । उनले भने, ‘अहिलेसम्म कहिँकतैबाट उजुरी वा गुनासो आएको छैन, अब हामी अनुगमन गरी त्यस्तालाई कानुनी दायरामा ल्याउँछौं ।’
‘बिनादर्ता कुनैपनि स्वास्थ्य संस्था सञ्चालन हुनु अवैध हो,’जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले भनिन्,‘अस्पताल हुनका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्छ । दर्ता भएकालाई मात्रै हामी चिन्छौं । दर्ता र नवीकरण नहुनेलाई हामी बन्द गर्ने प्रक्रिया सुरु गर्छौं ।’ यो समस्या समाधान गर्न आफू लागिरहेको उनले बताइन् ।
यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो । कुनैपनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुंवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन् ।
त्यस्तै, सवारी साधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको हुनुपर्ने र त्यसका लागि २५ प्रतिशत जग्गा छुटेयाउनुपर्नेमा कुल १८ धुर जग्गामा मात्रै सञ्चालित यस अस्पतालमा पार्किङका लागि कुनै व्यवस्थापन नै गरिएको छैन् ।
यस सम्बन्धमा अस्पतालका सञ्चालक डा.गंगाप्रसाद यादवले आफुहरु हस्पिटल दर्ताको प्रक्रियामा रहेको बताए । हस्पिटल सञ्चालन गरेको एक वर्ष बितेपनि हालसम्म दर्ता हुन नसकेको स्वीकार्दै उनले तत्काल दर्ताको प्रक्रियामा जाने बताए । अस्पतालका सञ्चालक डा. यादवले भने, ‘हामी दर्ता प्रक्रियामा छौँ, अब छिट्टै दर्ता गर्छौं ।
चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु
जनकपुरधामस्थित तराई राजधानी अस्पतालको लापरबाहीका कारण फेरि एक नवजात शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ स्थित नगराइन बस्ने विजय मण्डलकी २५ वर्षीया पत्नी रोशनी मण्डलले शुक्रबार राति ८ बजे सोही अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । शिशुको जन्म भएको ८ घण्टापश्चात अर्थात बिहान ४ बजे मृत्यु भएको अस्पतालले परिवारजनलाई जानकारी गराएको पीडित विजय मण्डलले बताए । उनले जन्मेको केही समय पश्चात् शिशुको स्वास्थ्य अवस्था खराब भएको भन्दै अस्पतालले एनआईसीयूमा भर्ना गर्नुपर्ने भन्दै आफूहरुलाई जानकारी गराएको बताए ।
मण्डलले भने,‘राति ११ बजे नै आफ्नो बच्चा चिच्याउँदा किन यस्तो भएको हो भनेर डाक्टरको बारेमा सोधखोज गरें, तर रातभर चिकित्सक आएनन्, स्टाफ नर्सकै भरमा उपचार गर्दा मेरो बच्चाको मृत्यु भयो ।’ उनले बदमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
यता, अस्पतालका व्यवस्थापक विकास कुमार सिंहले सो नवजात शिशुको उपचारमा अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरे ।
उनले भने,‘बच्चा जन्मिँदा स्वस्थ्य नै थियो, पछि अस्वस्थ हुन थालेपछि एनआईसीयूमा भर्ना गरिएको थियो । तर पनि बच्चालाई बचाउन सकिएन,अस्पतालले आफ्नो ठाउँमा सबैथोक पूरा गरेको छ ।’
यसअघि, गत असोज १३ गते पनि सो अस्पतालमा एक नवजात शिशुको जन्म भएको तेस्रो दिनमै चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो ।
सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए । अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको साहको भनाइ छ ।
शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए । ‘तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले भने ।
अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रेफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताए ।
‘डा. यादवलाई मंगलबारदेखि नै शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ अजयले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं ।’
अस्पतालले शिशु र आमा दुवैलाई बचाउनु छ भने तुरुन्त बच्चा निकाल्नुपर्छ भन्दै अप्रेसन गर्नुपर्ने सुझाब दिएको थियो । हतास हुँदै आफूले सहमति जनाएको तर सोमबार दिउँसो साढे १२ बजे शिशुको जन्म अप्रेसनबाट नभई नर्मल भएको उनले बताए ।
चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा हजारौं रुपैयाँ खर्च गराएर ‘आफ्नो सन्तानलाई मारेको’ अजयको दाबी छ ।
यिनीहरु त उदाहरण मात्र हुन् । दर्ताबिना सञ्चालनमा रहेको तराई राजधानी अस्पताल स्थापना भएदेखि अहिलेसम्म १ हजार ५ सय भन्दा बढि बिरामीसँग उपचारको नाममा अवैध रुपमा रकम असुल गरिसकेको स्रोतको भनाइ छ ।
उपचार खर्च तिर्न नसक्दा बन्धक
यस अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो । अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।
असार ८ गते बुहारीलाई प्रसुती व्यथा लागेपछि सासु सुजान देवी सदाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकी थिइन् । त्यहाँ कुनै चिकित्सकले कुनै चासो नदेखाएपछि कसैको माध्यमबाट रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा ल्याए ।
त्यस अस्पतालले निलमको नर्मल डेलेभरी पश्चात पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरे । तर, अस्पतालले पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भन्यो । निलमकी सासु सुजान अस्पतालको बिल हेरेपछि आश्चर्यमा परिन् । उनले विभिन्न सहयोग मार्फत संकलन गरेको ३२ हजार रुपैयाँ अस्पताललाई बुझाएर आफू धेरै गरीब रहेकोले अब हामीलाई घर जान दिनुस भनेर आग्रह गरिन । तर, अस्पतालले उनको आग्रहलाई कुनै वास्ता गरेन । पैसा नतिरेसम्म यहाँबाट जान नदिने अडान दोर्होयाउँदै उनीहरुलाई त्यहाँ बन्धक बनाए ।
फार्मेसीमा पनि ब्रम्ह्लूट
तराई राजधानी हस्पिटलले हस्पिटलको हाताभित्रै स्वयं सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ ।
अस्पताल भित्र दर्ताबिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरुको गुनासो छ ।यस अस्पताल भित्रको फार्मेसीले ६ सय रुपैयाँ पर्ने औषधि १ हजार ५ सयसम्ममा बिक्री गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा अस्पतालकै छेउमा पसल सञ्चालन गरेका एक व्यक्तिले जानकारी दिए । उनले यस अस्पतालमा बराबर कुनै न कुनै घटनाहरु घटिरहेको उनको दावी छ ।
औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेको स्रोतको दावी छ ।