पोखरी सजावटको नाममा लाखौं रकम उठाएका युवा क्लवहरु घाट सरसफाइ नै नगरि गायव

जनकपुरधाम, २६ कार्तिक । बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ । पर्वको पूर्वसन्ध्यामा सरसजावटसँगै झकिझकाउ बनाइएका जनकपुरधामका पोखरी तथा तलाउहरु यसको समापनसँगै फोहोर बनेका छन् ।
यो पर्वमा दुई दिन जलाशयमै पूजा गरिने हुँदा पूजाअघि जलाशयहरुको सरसफाइ र सजावट गरिन्छ । तर, पूजा गर्न सफाइ गरिएका जलाशयहरु पूजाको समापनसँगै पुनः फोहोर बनेको देखिएको छ ।
छठ पर्वको पूर्वसन्ध्यासम्ममा स्थानिय युवा क्लवहरुले जलाशयको सरसजावटका लागि भन्दै घाटमा अघ्र्य राख्ने प्रत्येक परिवारसँग ३ सय देखि ५५० रुपैयाँसम्म असूल गरेका थिए । तर, पूजा सम्पन्न भएपछि फोहोर भएका ती जलाशयहरुमाथि कसैको ध्यान पुगेको छैन् ।
छठ पुजाका लागि प्रयोग गरिने जनकपुरधामस्थित गंगासागर, धनुष सागर, अंगराज सर, दशरथ तलाउ लगायतका दर्जनौं जलाशयहरु पूजाको समापनसँगै फोहोर बनेका छन् ।
स्थानीय मनोज साहले छठ पर्वको बेलामात्र सरसफाइ हुने र त्यसपछि बर्षैभरी छठघाट उपेक्षित हुनुमा स्थानिय युवा क्लवहरु दोषि रहेको बताए । उनले जलाशयहरुलाई दुषित हुनबाट रोक्न त्यसको उचित हेरचार, सरसफाइ र व्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।
स्थानीय विन्दु ठाकुरले युवा क्लवहरुका लागि यहाँका पोखरीहरु कमाई खाने भाँडो मात्र रहेको आरोप लगाईन् । उनले भनिन,‘युवा क्लवहरुले पोखरीको घाटहरुमा झिलिमिली बत्ती लगाएवापत गतिलो पैसा उठाउँछन् । प्रत्येक परिवारसँग पैसा लिन्छन् । तर, पूजाको समापनसँगै फोहोर भएका जलाशयहरुको सरसफाइमा भने उनीहरुको ध्यान नै पुग्दैन् ।’
यस सम्बन्धमा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष तथा प्रदेश सभा सदस्य रामअशिष यादवले छठ पूजाको व्यवस्थापन गर्ने युवा क्लवहरुले घाटको शुल्कवापत ठुलो रकम उठाएपनि छठ पछि पोखरीहरु फोहोर हुँदा त्यसको सरसफाइमा कुनै ध्यान नदिने गरेको आरोप लगाए । उनले अब आफूहरुले नै पुनः सरसफाइ गर्ने बताए ।
यता, गणेश युवा कमिटीका अध्यक्ष संतोष महतोले धनुष सागर पोखरीको घाटमा यसबर्ष करिव २ हजार ५ सय परिवारले छठ पूजा गरेको र कमिटीले यसबर्ष प्रतिघाट ३ सय रुपैयाँ शुल्क लिएको जानकारी दिए । उनले छठ पर्वको व्यवस्थापनमा पण्डाल, लाइट तथा साउण्डमा मात्र प्रतिवर्ष ३ लाख रुपैयाँसम्म खर्च हुने गरेको दावी समेत गरे ।