मुखियापट्टी मुसहरनियामा जनाधार गुमाउने बाटोमा काँग्रेस

जनकपुरधाम, २६ कार्तिक । नेपाली काँग्रेसको आसन्न महाधिवेशनअन्तर्गत बाँकी रहेका जिल्लामा वडा अधिवेशनको मिति नजिकिएसँगै कारबाहीको क्रम सुरू भएको छ।
कात्तिक २८ गतेका लागि वडा अधिवेशनको मिति तोकिएसँगै धनुषा काँग्रेसमा कारबाहीको सिलसिला सुरू भएको हो।
जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका काँग्रेस नेता जयकुमार यादवलाई कारबाही गर्न निवेदन दर्ता भएको छ।
यादवलाई कारबाही गर्न जिल्ला कार्यालयमा निवेदन दर्ता भएको काँग्रेस स्रोतले जनाएको छ। गएको स्थानीय तह निर्वाचनमा बागी भएर उम्मेदवारी दिएको भन्दै रामबाबु यादवले उनलाई कारबाही गर्न निवेदन दर्ता गराएको स्रोतले बताएको छ ।
गाउँपालिकामा बलियो जनाधार र सर्वसाधारणमा उल्लेख्य पकड रहेको यादवलाई कारबाही गरिए काँग्रेसले ठूलो क्षति बेहोर्नुपर्ने स्थानीयको भनाइ छ।