सप्तरीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

सप्तरी, २५ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकास्थित बरमझियामा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि ३८ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजकुमार तिवारीको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका तिवारीलाई उपचारका लागि विराराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का नाम, थर खुल्न नसकेको अन्दाजी ३०÷३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।
यस्तै, सोही बसले पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट कञ्चनरुप नगरपालिका–१ बर्मझिया बस्ने १९ वर्षका रोहनप्रसाद गुप्ताको दाहिने खुट्टा भाँचिएको छ । उनको विराटनगरमा उपचार भइरहेको र बस तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको डएसपी काफ्लेले जानकारी दिए ।